|

काठमाडौँ : सरकारले सवारी चालकको चेकजाँचमा थप कडाइ गर्ने भएको छ।

आइतवार सिंहदरबारस्थित गृह मन्त्रालयमा गृहमन्त्री रमेश लेखकले बोलाएको दुर्घटना न्यूनीकरण सम्बन्धी बैठकले उक्त निर्णय गरेको हो। सवारी दुर्घटना नियन्त्रणका लागि सवारी चालकहरूले मादक पदार्थ, लागुपदार्थ सेवन गर्न नदिन चेकजाँचमा कडाइ गर्ने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए।

त्यसैगरी बैठकले यातायात व्यवसायीहरूलाई पनि सवारी चालकहरूलाई आवश्यक तालिमको तत्काल व्यवस्था मिलाउन सचेत गराएको छ।

प्रवक्ता तिवारीका अनुसार सवारी दुर्घटना नियन्त्रणका लागि सिटभन्दा बढी यात्रु नराख्ने, यात्रुवाहक सवारीसाधनमा मालसामान ढुवानी गर्न नहुने लगायतका निर्णय कडाइका साथ कार्यान्वयन गर्ने निर्णय गरिएको छ।

प्रवक्ता तिवारीले भने, ‘आज गृहमन्त्रीको अध्यक्षतामा सवारी दुर्घटना नियन्त्रण सम्बन्धमा सरोकारवाला निकायबीच छलफल गर्‍यौँ। सिट क्षमताभन्दा बढी यात्रु नराख्ने‚ मादक पदार्थ र लागुपदार्थ सेवन गरी सवारीसाधन चलाउने प्रवृत्ति नियन्त्रण गर्न चेकजाँचलाई कडाइ गर्ने निर्णय गरेका छौँ।’

सरकार र सरोकारवाला निकायबीच सवारीसाधन दुर्घटना नियन्त्रणका लागि विगतमा भएको सहमति कार्यान्वयन गर्न बैठकले जोड दिएको गृह मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.