काठमाडौँ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक हप्तायता गृह जिल्ला डडेलधुरामा छन्। निर्वाचन जितेपछि बिरलै गृह जिल्ला पुग्ने गरेका उनले यसपटक भने डेडलधुरामै एक हप्ता ब्यतित गरिसकेका छन्।
२०४८ सालदेखि निरन्तर डडेलधुराबाटै चुनाव जितेर पटक–पटक देशको बागडोर सम्हालिसकेका देउवा विगतमा औपचारिक कार्यक्रमका लागि थोरै मात्र समय लिएर गृह जिल्ला पुग्ने गर्थे। निर्वाचनको समयमा बाहेक अरु वेला उनी यति लामो समय गृह जिल्लामा बसेको सम्भवतः यो पहिलो पटक हो।
यसपटकको डडेलधुरा बसाइमा देउवा स्थानीय मतदाताहरूसँग भेटघाट तथा भलाकुसारी, विकास निर्माणबारे जानकारी र मठमन्दिरको दर्शनमा व्यस्त छन्।
कांग्रेस राजनीतिमा ५ दशकदेखि सक्रिय ७९ वर्षीय उनले राजनीतिक जीवनको उत्तरार्द्धमा पुग्दै गर्दा यसरी जिल्ला दौडाहा गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
दोस्रो कार्यकाल कांग्रेसको नेतृत्व गरिरहेका देउवा पार्टीको विधानअनुसार तेस्रो पटक सभापति बन्न पाउने छैनन्। पार्टीको नेतृत्वमा नरहेपछि आगामी चुनावी मैदानमा होमिने सम्भावना पनि न्यून छ। त्यसैले आफ्नो उत्तराधिकारीको खोजीस्वरुप डडेलधुरा दौडाहामा रहेको विश्लेषण पनि भइरहेको छ।
एक सातापछि परराष्ट्रमन्त्रीसमेत रहेकी देउवापत्नी आरजु राणा पनि डडेलधुरा नै पुगेकी छन्। देउवाकै उत्तराधिकारीका रुपमा हेरिएकी आरजु पनि सँगै जिल्लाका मतदाताहरूसँग भेटघाट छिन्।
कार्यकर्ताको मनस्थिति बुझेर देउवा आगामी निर्वाचनमा आफैँ लड्ने कि उत्तराधिकारीलाई अघि सार्ने भन्ने रणनीतिमा लागेको अड्कल राजनीतिक वृत्तमा भइरहेका छन्।
साथै भित्री रुपमा आन्तरिक केही खिचडी पाकिरहेको हुँदा दक्षिणी छिमेकीसँग केही गोप्य छलफलहरूसमेत भइरहेको हुन सक्ने आशंका पनि व्यक्त भइरहेका छन्।
राजनीतिक विश्लेषक भीम भुर्तेल आफ्नो उत्तराधिकारीका लागि कार्यकर्ताको मनस्थिति बुझ्नुका साथै दक्षिणतिरका खुफिया संयन्त्रसँग कुनै छलफल भएको आशंका व्यक्त गर्छन्।
‘उहाँ (देउवाले) श्रीमतीलाई अघि सारेर परराष्ट्रमन्त्रीसम्म बनाइसक्नुभो। छोरोलाई पनि तयार गर्ने योजना छ तर अहिले डडेलधुरामा कांग्रेसभित्रै पनि उहाँसँग असहमत हुनेको संख्या बढ्दो छ। त्यसकारण त्यसैको अवस्था बुझ्न जुट्नुभएको त हो नै’, उनी थप्छन्, ‘ यसका साथै राजनीतिमा ‘अण्डरकरेन्ट’ केही खटपट भएको जस्तो छ। मलाई लाग्छ त्यहाँ महाकाली पारी भारतीय नेताहरू अथवा खुफिया संयन्त्रका स्रोतहरूसँग छलफलहरू भएको हुन सक्छ।’
तर कांग्रेस नेताहरू भने यसलाई अस्वीकार गर्छन्। देउवा नितान्त निर्वाचन क्षेत्रमा विकास निर्माणको अवस्था बुझ्न, मतदाताहरूसँग भलाकुसारी गर्न र फुर्सदको समय सदुपयोग गर्न मात्र गृह जिल्ला पुगेको कांग्रेस नेताहरूको दावी छ।
स्वयं देउवाले पनि आफ्नो डडेलधुरा बसाइलाई सामान्य रुपमा अर्थ्याएका छन्। डडेलधुरा लामो समय बस्नुको कारणबारे पत्रकारहरूले सोधेको प्रश्नको उनको जवाफ थियो, ‘म सधैँ आइरहेको छु।’
डडेलधुराबाट भावी उम्मेदवार को भन्ने प्रश्न जवाफ देउवाले ठट्यौली पारामा दिए। ‘तपाईँहरू नै भन्नुस् न, मलाई भोट हाल्ने भए बनिदिन्छु।’
डडेलधुराका कांग्रेस नेता कैलाश पाण्डेले निर्वाचन क्षेत्र पुग्ने नियमित कार्यक्रमअन्तर्गत पार्टी सभापति देउवा डडेलधुरा आएकाे बताउँछन्। साथै फुर्सदको समय भएकाले पनि त्यसको सदुपयोगका लागि गृह जिल्ला आउनुलाई अन्य अर्थ लाउन नमिल्ने उनको भनाइ छ।
‘पहिलो कुरा त डडेलधुरा उहाँ (देउवा)को गृह जिल्ला हो। निर्वाचन क्षेत्र पनि हो। त्यसकारण अहिले नियमित कार्यक्रमअन्तर्गत आउनुभएको हो’, उनी भन्छन्, ‘अर्को कुरा अहिले उहाँ फुर्सदिला हुनुहुन्छ। सरकारको जिम्मेवारी प्रधानमन्त्रीले हेरिरहनुभएको छ। सरकारमा पार्टीका अरु नेताहरू छन्। अहिले पार्टीको पनि धेरै कामकाज छैन। यसरी फुर्सदको समय मिलेकोले आउनुभएको हो‚ त्यसको सदुपयोग गर्नुभएको हो।’
तपाईंको ईमेल गोप्य राखिनेछ ।